पढाई र काम : कस्तो छ फिनल्याण्ड

संक्षेपमा फिनल्याण्ड :

पूर्वमा रुस, पश्चिममा स्विडेन, दक्षिणमा ‘बाल्टिक सागर’ अनि उत्तरमा झन्डै ‘नर्थ पोल’ लाई छुन खोज्ने फिनल्याण्ड, उत्तरी युरोपको एक सम्बृद देश मध्ये पर्दछ | केहि समय जर्मन नाजीहरु संगको युद्ध, स्विडेन अनि रुससँगको युद्ध तथा आफ्नै गृहयुद्धका कारण माथि उठ्नै नसकेको फिनल्याण्ड, सन् १९१७ मा स्वतन्त्र भएको हो | काठ, धातु, रसायन, उर्जा, विद्युतीय सामग्री, आदि प्रमुख उत्पादन रहेको यस मुलुकले पछिल्लो समयमा गरेको द्रुततर बिकास साँच्चै लोभलाग्दो छ | दक्षिणी युरोपको तुलनामा निकै पछिमात्र आप्रबासीहरुको प्रवेश बाक्लिएको फिन्ल्यान्डमा राजधानी र प्रमुख पर्यटकीय स्थल बाहेक अन्यत्र खासै अंग्रेजी भाषा आधिकारिक रुपमा बोलिदैन | finland-map-big

जनसंख्याको ९५ % फिनिश भाषी छन् भने बाँकी स्विडिस भाषी र आदिबासी ‘सामी’ भाषा बोल्ने संख्या छ | सरकारी कामकाजको भाषा चाहिँ फिनिश र स्विडिश दुवै हुन् | कुल क्षेत्रफल ३३८४२४ बर्ग किलोमीटर भूभागमा जम्मा जनसंख्या भने करिब ५५ लाख रहेको छ | राजधानी हेलसिन्की लगायतका दक्षिणी भागमा डिसेम्बर-जनवरी मा (– ३२ से) सम्म हुने गर्दछ भने मध्ये गर्मिमा +२८ से सम्म पुग्न सक्छ | बर्षको ६ महिना भन्दा धेरै, लगभग सबैजसो भूभाग हिउँले ढाकिने गर्दछ | मौसमका हिसाबले फिनल्याण्डमा धेरैले नेपाल भन्दा एकदम फरक अनुभूति गर्न पाउने छन् | हाल करिब २५०० नेपाली बसोबास गर्दै आएका फिन्ल्यान्डमा ९० को दशक देखि मात्र बिध्यार्थी तथा कामदार भिसामा आउनेको संख्या बाक्लिएको हो |

शिक्षा :

aalto unv

विश्वमै उत्कृष्ट शिक्षा प्रणाली भएको मानिने फिन्ल्यान्डमा प्राथमिक देखि विश्वबिद्यालय सम्मको शिक्षा नि:शुल्क छ | त्यसैले पनि पछिल्लो समयमा नेपाली बिध्यार्थीहरुको आकर्षणमा यहाँका विश्वबिद्यालय पर्न थालेका छन् | अधिकांस शैक्षिक संस्था तथा बिध्यार्थीहरु राजधानी हेलसिन्कीमा केन्द्रित रहे पनि, बिषयगत पढाई तथा भर्ना हुन सजिलोको हिसाबले तुर्कु, ओउलु, ताम्पेरे, भाषा, कोक्कोला, केमि-तोर्नियो, आदि जस्ता अन्य सहरहरुमा आउने नेपाली पनि उल्लेख्य छन् | सबै जसो बिषयमा उत्तिकै ख्याती कमाएका यहाँका शैक्षिक संस्थाहरुमा नेपाली बिध्यार्थी माझ भने इन्जिनियरिंग, आई.टि., नर्सिंग, ब्यापार, ब्यबस्थापन जस्ता बिषय बढि रुचिमा पर्ने गरेका छन् | बिश्वबिध्यालयले गर्ने बिध्यार्थी छनौटको प्रमुख आधार भनेको IELTS अंक वा आफ्नै प्रवेश परिक्षाहरु हुन् | केहि संस्थाहरुले नेपालमै पनि प्रवेश परिक्षा संचालन गर्ने गरेका छन् | हाल फिनल्याण्डमा स्नातक, स्नातकोत्तर तथा डक्टरेट (बिध्यबारिधि) तहमा नेपाली बिध्यार्थी अध्यनरत छन् | बिध्यार्थी भिसामा आबेदनको लागि अरु सबै देश जस्तै न्युनतम ब्यांक ब्यालेन्स तथा अन्य आवस्यक कागजात अपरिहार्य छन् | त्यस सम्बन्धि अधिकांस जानकारी नेपालमा रहेको फिनिश राजदुताबासले दिने गर्दछ |

काम :

बिध्यार्थी भिसामा रहेकाहरुले सामान्यतया हप्ताको २५ घण्टा काम गर्न पाउँछन् | कामदार-भिसामै रहेका हरुलाई चाहिँ समयको खासै हदबन्दी छैन | कामका लागि यहाँ आउने नेपालीको संख्या अन्य देशको तुलनामा ज्यादै थोरै छ | यहिँ उध्योग/ब्यबसाय गरेका नेपाली वा गैर-नेपालीको सहयोगमा मात्र कामदार भिसामा आउने प्रचलन बढि छ | धेरै नेपालीहरुले आफ्नै लगानीमा पशुपालन, होटल, रेस्टुरेन्ट, ग्रोसरी पसल, आदि संचालन पनि गरिरहेका छन् | पछिल्लो समयमा नेपाली रेस्टुरेन्टहरु उल्लेख्य मात्रामा खुलेका छन् | तर नेपालमै लिइएको ब्यबसायिक वा प्राबिधिक तालिम, यहाँ त्यति पर्याप्त र समयासपेक्ष देखिदैन | नयाँ प्रविधि र काम गर्ने तरिका त छँदै छ, भाषा यहाँको अर्को समस्या हो | अधिकांस फिनिशहरु अंग्रेजी जाने पनि त्यति प्रयोगमा ल्याउँदैनन, अनि फिनिस भाषामै दखल नराखीकन आम रोजगारीका अवसर पाउन गाह्रो देखिन्छ | कामकाजको भाषा अंग्रेजी भएका ठुला अफिस अनि केहि बहुराष्ट्रिय कम्पनिहरुमामा चाँही बिदेशी कर्मचारी पनि उल्लेख्य देखिन्छन | हाल केहि नेपालीहरु ठुलो मोबाइल कम्पनि नोकिया, फिनिश सरकारको क्यान्सर रिसर्च फाउन्डेसन, केमि-तोर्नियो युनिभर्सिटी, लगायतको प्रतिष्ठित संस्थाहरुमा राम्रो स्थानमा काम गरिरहेका पनि छन् | तर कामको लागि फिनल्याण्ड आउनु अघि भाषा सम्बन्धि ज्ञान पर्याप्त राख्न जरुरि छ | हरेक कामको उत्तिकै सम्मान तथा मेहनत र लगनशिलता रहनु पर्छ भन्ने यहाँको मुलमन्त्र हो |

बसाई तथा अन्य 

बिध्यार्थी भिसामा रहेकाहरुलाई सस्तो आवास गृहको ब्यबस्था गरिएको हुन्छ | तिनमा मासिक २०० देखी ५०० युरो सम्मका अपार्टमेन्ट पाइन्छन | तर त्यसको लागि लामो प्रक्रिया रहेको हुँदा, बिश्वबिध्यालयले भर्ना लिना साथ, नेपालबाटै अपार्टमेन्टको लागि आबेदन दिँदा उत्तम हुन्छ | बिध्यार्थी बाहेकले भने निजि हाउजिंग कम्पनिमा बस्नु पर्ने हुन्छ,जस्को भाडा सुबिधा हेरी मासिक ५-६ सय युरो देखि माथि पर्न जान्छ | सामाजिक सुरक्षा अत्यन्त बलियो रहेको फिन्ल्यान्डमा अरु युरोपियन रास्ट्रमा जस्तै अनुशासनको पालना कडाईका साथ गर्नु पर्ने हुन्छ | 

गाडी चलाउँदा/हिड्दा लेन अनुशासन होस् या यात्रा गर्दा ट्राभल-कार्ड, नियम उल्लंघन गरेको खण्डमा न्युनतम ८० युरो देखि माथि प्रकृति हेरी जरिवाना तिर्नु पर्ने हुन सक्छ | अत्यन्त सानो स्वर, शान्त बातावरण तथा हुलदंगा रहित भेला मन पराउने फिनिशहरुको ब्यबहार बाहिरबाट नयाँ आउने व्यक्तिलाई भने नौलो लाग्न सक्छ | हरेक क्षेत्रमा पुरुष भन्दा धेरै महिला सहभागिता फिनल्याण्डको अर्को बिशेषता हो | महिला प्रतिको भेदभावपूर्ण सोचाई र आफ्नो काम प्रतिको असन्तुष्टि फिनल्याण्ड पस्नु अघि बाहिरै छोडे राम्रो | यहाँ आउनुअघि पुरा गर्नुपर्ने प्रक्रिया तथा अईसकेपछीको याद गर्नुपर्ने कुराको जानकारी दिनका लागि नेपालीहरुले नै चलाएका वेबसाईट तथा फेसबुक पेजहरु उपलब्ध छन् | nrna.fi, nepalfinland.com, आदि तथा फेसबुक पेज Nepal solidarity Finland, नेपाल फिनल्याण्ड, हेलसिन्की बजार हरु प्रचलित छन् | यिनमा कोठा खोज्ने, फर्निचर किन्ने देखि लिएर जागिरका समस्याहरु समेत छलफल हुने गरेका छन् | नेपाली समुदाय बिचको सुमधुरता बढाउन तथा देशको परम्परा बचाईराख्नको लागि बेला बेलामा सांस्कृतिक कार्यक्रम, खेलकुद, हाजिरीजवाफ अनि भेटघाट कार्यक्रमहरु पनि प्रसस्त हुने गर्दछन | नेपालीहरुलाई पर्ने समस्या तथा छलफल/भेटघाटको लागि ‘NRN फिनल्याण्ड’ तथा अन्य संस्थाहरुले समन्वयकारि भूमिका खेल्दै आएका छन् |

  —

भुवन पोखरेल
एस्पो, फिनल्याण्ड ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *