एनआरएन फिनल्याण्डद्वारा महोत्तरीमा ५५ जना विद्यार्थीहरुको अभिभावकत्व ग्रहण

अक्टोबर १, २०१८, हेलसिन्की
गैर आवासीय नेपाली संघ फिनल्याण्डले महोत्तरी जिल्लामा विद्यालय बाहिर रहेका ५५ जना बालबालिकाहरुको अभिभावकत्व ग्रहण गरेको छ । सरकारले सरुवात गरेको अभिभावकत्व ग्रहण कार्यक्रमलाई सहयोग पुर्‍याउने उद्धेश्यले जिल्लाको रामगोपालपुर नगरपालिकाका बालबालिकहरुलाई विद्यालय भर्ना गराउने कार्यको आज एक कार्यक्रमका वीच शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सुभारम्भ गर्नुभयो ।
सो कार्यक्रममा विद्यार्थीहरुलाई स्थानीय महेन्द्र राष्ट्रिय उच्च मावि र जनता प्राबिमा भर्ना गराई झोला, लत्ताकपडा र स्टेसनरी आदी शैक्षिक सामाग्री वितरण समेत गरिएको छ । शैक्षिक सामग्री, झोला, कपडा र खाजामा गरि प्रति बर्ष हरेक विद्यार्थीले ६००० रुपैयाँ बराबरको सहयोग प्राप्त गर्नेछन् । शैक्षिक सामग्री वितरण, अनुगमन लागायतका ब्यवस्थापकिय कार्यका लागि ६ सदस्यीय संचालक समिति निर्माण गरिएको छ । अभिभावकहरुलाई आफ्ना बालबालिकालाई नियमित विद्यालय पठाउन तथा घरमा समेत पढ्ने वातावरण सृजना गर्न हरेक बर्ष उत्कृष्ट अभिभावकहरुलाई पुरस्कार र सम्मान प्रदान गरिनेछ । अभिभावकत्व ग्रहणका लागि श्रोत जुटाउन गत अगष्टमा फिनल्याण्डको राजधानी हेलसिन्किमा मैत्रीपूर्ण दौड प्रतियोगिता रन फर नेपालको आयोजना गरिएको थियो । भर्ना गरिएका विद्यार्थीहरलाई उनीहरुले विद्यालय शिक्षा पार गरुन्जेल सहयोग प्रदान गर्न पहल गरिनेछ । कार्यक्रमको दिगोपनका लागि शिक्षा मन्त्रालय तथा रामगोपालपुर नगरपालिकाले समेत आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।